काठमाडौँ १३ चैत २०८१ / संसद् सचिवालयका अनुसार संसद्का दुवै सदनका बैठक बस्दैछन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने भएका हुन्।
प्रतिनिधि सभाको बैठकबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्नेछन्।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। राष्ट्रियसभा बैठकमा भने आज चार मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची छ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीले उत्तर दिर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१ मा छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

