fbpx

 

काठमाडौँ १४ चैत २०८१ / संघीय संसदको दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे प्रतिनिधि सभाको बैठक र मध्याह्न १२ बजे राष्ट्रिय सभा बैठक बस्दैछ।

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयलाई प्रधानमन्त्रीले जबाफ दिनुपर्ने माग राख्दै बुधबार विपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको बैठक स्थगित भएको थियो।

प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालय , गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने आजको कार्यसूची छ।

बैंकिङ् कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले लोक सेवा आयोगको पैँसट्ठीऔं वार्षिक प्रतिवेदन (२०८० श्रावण २०८१ आषाढ) पेश गर्नेछन्।

त्यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस्’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रिय सभा बैठकका लागि पनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।