
काठमाडौँ ०७ वैशाख २०८२ / सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा निषेधित क्षेत्र तोकेको स्थानमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ। राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित आन्दोलन गर्दै आएको छ।
सिंहदरबार,संसद भवन बानेश्वर,माइतीघर,बालुवाटारलगायत निषेधित क्षेत्रमा सुरक्षाकर्मीहरू बिहानैदेखि तैनाथ छन्। राप्रपाले बिजुली बजारमा भेला भइ निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ। राप्रपा निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिमा छ।
वैशाख ४ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आज निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो। चैत्र १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपाले आज प्रदर्शन गर्न लागेको बताएको छ।
शिक्षकको निरन्तर आन्दोलनले अस्तव्यस्त बनेको काठमाडौं आजै फेरि राप्रपाले पनि प्रदर्शन गर्ने भएपछि ट्राफिक व्यवस्थापनमा झनै समस्या भएको हो। मुख्य सडकहरूमा सवारी साधनहरूलाई डाइभर्सन गरेपछि भित्री र साँधुरा सडकमा जाम बढेको छ।