काठमाडौँ, ०१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयले एक आधिकारिक विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयहरूलाई उनीहरूको सहजता अनुसार हिउँदे वा वर्षे बिदाको समयमा पनि पठनपाठन जारी राख्न आग्रह गरेको छ।
२०८१ साल चैत महिनामा काठमाडौंमा भएको शिक्षक तथा कर्मचारीहरूको आन्दोलनले सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना र पठनपाठन जस्ता कार्यहरूमा असर परेकोले यो अनुरोध गरेको स्पष्ट पारेको छ।
मन्त्रालयले महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । “पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।
साथै, शिक्षक र कर्मचारीहरू अहिले विद्यालय फर्किसकेको अवस्थामा, मन्त्रालयले सबै स्थानीय तह, विद्यालय र सम्बन्धित सरोकारवालाहरूलाई निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन र विद्यार्थीहरूको सिकाइ स्तरमा सुधार ल्याउन शिक्षकहरूको संकल्पलाई बढाउन विशेष समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गर्न विशेष अनुरोध गरेको छ।

