काठमाडौँ १७ जेठ / जिल्ला प्रशासन कार्यालय कालीकोटको सूचनाअनुसार शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि कर्णाली करिडोरको खुलालु-लालीघाट सडकखण्ड मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
यो बाटो हुँदै यात्रा गर्ने कालीकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ। सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ।
सडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन यो सडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन रोकिएको हो। निर्माण कार्य सहज बनाउन करिडोरको करिब १ किमी खण्ड चार दिन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ।

