काठमाडौँ १८ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको राजधानी जनकपुरधाममा मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ६४ वटा सडक एकैपटक शिलान्यास गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जेठ १८ गते एक कार्यक्रमबिच जनकपुरबाट डिजिटल माध्यममार्फत शिलान्यास गरिने यो योजना मधेशको ग्रामीण भूगोललाई सहरी केन्द्रसँग भौति करूपमा जोड्ने प्रयासको औपचारिक सुरुवात हुने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
कूल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजनाहरु स्वीकृत भई डीपीआरसमेत सकेर शिलान्यास गर्न लागिएको हो । साढे ५ मिटर चौडाई भएको उक्त सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताइएको छ।
मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमीटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमीटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।
प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन् ।
प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरुको सिफारिसका आधारमा सडकको छनोट गरिएको र सर्वदलिय सहमति अनुसार कार्यक्रम गर्न लागिएको बताईएको छ ।

