काठमाडौँ १९ जेठ / यातायात व्यवसायीको हडतालका कारण सर्वसाधारण मर्कामा परेसँगै नेपाल प्रहरीले सोमबार उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको हो ।
प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ ।
प्रहरीले यात्रुसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो ।
नक्सालबाट बालुवाटार, महाराजगन्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ । यस्तै नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, काटेश्वर, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, महाराजगन्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ ।

