काठमाडौँ १९ जेठ / नेपाली कांग्रेसका वर्तमान र पूर्व पदाधिकारी सहभागी रहेको शीर्ष नेताको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी रहेको छ ।
बैठकमा प्रतिपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेको विषयमा छलफल भइरहेको छ । विपक्षीहरूले गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् । जेठ १३, र १४ गतेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका विपक्षीहरूले मंगलबार बस्न लागेको बैठक पनि अवरोध गर्ने तयारी गरिरहेका छन् ।
कांग्रेसका शीर्ष तहका एक नेताका अनुसार बैठक भ्रातृ संस्था, समसायिक विषयमा रहेको जाननकारी गराए । कांग्रेसले चैत मसान्तभित्र अधिवेशन गर्न समयावधि दिएपछि मुख्य भ्रातृ संस्थाहरुले निर्वाचित समिति ल्याउन सकेका छैनन् ।
नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाले अधिवशेन गर्न सकेका छैनन् । कांग्रेसका १३ भ्रातृ संस्था मध्ये ७ वटामा तदर्थ समिति छ भने ठाकुर समाजमा तदर्थ समिति समेत बनाइएको छैन ।
भ्रातृ संस्थाको अवधि थप्ने वा भंग गर्नेमा पार्टीभित्र दुई धार देखिएको छ । सभापति देउवा अलमलमा रहेको नेताहरु बताउँछन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भंग गर्ने मनस्थितिमा रहेको उनीहरु निकट नेताहरु दाबी गर्छन् । संस्थापनइतरका नेता डा.शेखर कोइराला सानो आकारको समिति बनाएर छ महिनाको अवधि थप्नुपर्ने पक्षमा देखिएका छन् ।

