काठमाडौँ २१ जेठ / चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीहरूको बयान सकिएको छ।
बयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा आजदेखि थुनछेक बहस हुँदैछ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा बुधबारदेखि थुनछेक बहस सुरु भएको हो।
चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा ६५ जनाविरुद्ध मुद्दा चलाइएको छ। ती मध्ये चार बालकलाई काल अदालत भक्तपुरमा र ११ जना मध्ये पक्राउ परेका १० जना आपराधिक उपद्रवको कसुरमा धरौटीमा रिहा भइसकेका छन्।
राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवमा ५० जनालाई प्रतिवादी बनाइएको छ। ती मध्ये दुर्गा प्रसाईँसहित ८ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ। उनीहरु मध्ये अभियोग पत्रसाथ अदालतमा पेश गरिएका ३९ जनाको एकसाथ थुनछेक अगाडी बढेको हो।
जेठ ११ गते अदालतमा अभियोग पत्र दर्ता भएको थियो। त्यसपछि उनीहरुको बकपत्र चलिरहेको थियो। बकपत्र सकिएसँगै जिल्लान सरकारी वकिल कार्यालयका तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो। सरकारी वकिलले दुई दिन समय लिए अर्को साता मात्रै उनीहरुलाई थुनामा राख्ने कि थुनाबाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ।

