fbpx

काठमाडौँ २८ जेठ / पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीमा जयवीरसहितका व्यक्ति जोडिएको विषयलाई भिडियोमार्फत प्रस्तुत गरेको थिए ।

सञ्चारकर्मी पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको एक भिडिओ (भिडिओ सामग्रीको युट्युब लिङ्क र अर्काइभ लिङ्क) सामग्रीलाई लिएर उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा अनुसन्धानका लागि पाठकलाई पक्राउ गर्न अनुमति मागिएको थियो । सोही अनुसार अदालतबाट पक्राउ पुर्जी लिइएको ब्युरो स्रोतले जनाएको छ ।

पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए । उक्त रिपोर्टमा देउवा पुत्रले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको थियो ।

साथै उनका बुबा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सेनेटरी प्याड र डायपर आयातमा कर छुट हुनेगरी नीतिगत हेरफेर गरिएको आरोप पनि लगाइएको थियो । प्रहरी स्रोतका अनुसार उक्त सामग्री ‘कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले’ प्रसारण गरिएको आरोप लगाउँदै साइबर अपराध अन्तर्गत उजुरी परेको थियो ।

सोही उजुरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरीको भनाइ छ ।