काठमाडौँ ३१ जेठ / मध्यपूर्वमा इरान र इजरायलबीच तनाव बढेपछि अमेरिका इजरायललाई सहयोग गर्न अगाडि आएको छ । यसैअन्तर्गत अमेरिकाले इरानको क्षेप्यास्त्र आक्रमण रोक्न इजरायललाई सहयोग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
पछिल्लो समय इरानले आणविक हतियार विकसित गर्न लागेको भन्दै इजरायलले संसय व्यक्त गरिरहेको छ । त्यसलाई आफूमाथिको खतराका रूपमा इजरायलले व्याख्या गर्दछ । पछिल्लो आक्रमण पनि त्यसैलाई रोक्नका लागि भएको इजरायलले बताउने गरेको छ ।
त्यस्तै इजरायलले तेहरानको मेहराबाद विमानस्थलमा लडाकु जेट ह्याङ्गरमा बमबारी गरेको छ । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार इजरायलले बिहानको आक्रमणमा मेहराबाद विमानस्थलमा रहेको एउटा इरानी लडाकु जेट ह्याङ्गरलाई निशाना बनाएको हो ।
आक्रमणका कारण विमानस्थलमा विस्फोटहरू भए पनि त्यसले कुनै रनवे, भवन वा सुविधाहरूमा असर भने नपारेको दावी गरिएको छ । इरानी हवाई रक्षा प्रणालीहरू आक्रमणहरूलाई विफल पार्न सक्रिय रहेको उक्त समाचारमा उल्लेख छ ।
इजरायलले इरानमाथि आक्रमण गरेपछि पश्चिम एसियामा आणविक युद्धको त्रास फैलिएको छ । इजरायली आक्रमणको बदला लिन इरानले इजरायलमाथि दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ ।
त्यसो त इजरायलको डिफेन्स सिस्टम चुस्त भएकाले इरानले दर्जनौँ क्षेप्यास्त्र प्रहार गरे पनि थुप्रैलाई इजरायलले असफल पारिदिएको थियो । तर, इरानी आक्रमणले इजरायलमा पनि क्षति पुगेको दृश्यहरू भने सार्वजनिक भएका छन् ।
यो आक्रमण र प्रत्याक्रमणको सिलसिलामा इजरायलको डिफेन्स फोर्सेज (आईडीएफ) ले इरानमाथि लगातार हवाई आक्रमण भइरहेको जनाएको छ । आईडीएफले टेलिग्राममा यस्तो जनाएको हो ।
रिपोर्टका अनुसार अमेरिकाले आफ्नो हवाई रक्षा प्रणाली र नौसेना स्रोतहरूको सहयोगमा इजरायललाई सहयोग गरिरहेको छ । अमेरिकाको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली र थाड प्रणाली मध्यपूर्वमा तैनाथ रहेको छ, जुन ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई रोक्न सक्षम छन् ।
यसैबीच, अमेरिकी नौसेना जहाजहरूले पनि अहिले इजरायललाई मद्दत गरिरहेका छन्, यद्यपि यी जहाजहरूले क्षेप्यास्त्र प्रहार गरे वा केवल लक्ष्य ट्र्याकिङमा मद्दत गरे भन्ने स्पष्ट भएको छैन ।
अमेरिकाले इरानको आक्रमण रोक्न धेरै महत्त्वपूर्ण कदम चालेको बताइएको छ । यसअन्तर्गत ट्रम्प प्रशासनले पश्चिमी भूमध्यसागरबाट अमेरिकाको युद्धपोत यूएसएस थोमस हडनरलाई पूर्वी भागमा पठाएको छ, ताकि आवश्यक परेमा तत्काल मद्दत प्रदान गर्न सकियोस् । यससँगै, अर्को विनाशकारी जहाज पनि तयार राखिएको छ । यतिमात्र होइन, अमेरिकी लडाकु विमानहरूले हाल उक्त क्षेत्रको निगरानी गरिरहेका छन् र एअरबेसमा सुरक्षा बढाइएको छ ।
शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरू भएको यो नयाँ युद्धमा अहिलेसम्म अमेरिका सिधै सहभागी भने भएको छैन । तर, अमेरिकाको सहयोगबिना इजरायलले इरानमाथि यति ठूलो आक्रमण गर्न नसक्ने विश्लेषण गरिएको छ ।
शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अझ ठूलो नोक्सान बेहोर्नुपर्ने बताएका छन् । ट्रम्पले अमेरिकाले दिएको प्रस्तावमा सहमतिमा आउन इरानलाई आग्रहसमेत गरेका छन् । ट्रम्पले यसअघि सो प्रस्ताव नमान्दा इरानले आफ्नो सेनाका शीर्ष नेतृत्व गुमाएको बताउँदै सहमतिमा नआएमा नसोचेको नोक्सानी हुने चेतावनी दिएका छन् ।

