fbpx

काठमाडौँ ०३ असार / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको कनानास्किसमा भएको जी ७ शिखर सम्मेलनलाई अचानक छोडेका छन् । इजरायल र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको बेला एक दिन अगावै उनी फर्केका हुन् । क्यानडाबाट फर्केलगत्तै अमेरिकी नेताले तेहरानलाई ‘तत्काल’ खाली गर्नुपर्ने घोषणा गरेका छन् ।

यसअघि ट्रम्पले मानिसहरूलाई तत्काल तेहरान छोड्न भन्दै इरानले अमेरिकासँग परमाणु सन्धिमा हस्ताक्षर गरिहाल्नुपर्ने दोहोर्‍याएका थिए।
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले जी–७ को सम्मेलन छोडेर जाने ट्रम्पको कदमलाई सकारात्मक बताएका थिए। इजरायल र इरानबीच शान्ति प्रयासका लागि ट्रम्पले सम्मेलन छोडेको हुनसक्ने उनको भनाइ थियो।

ट्रम्पले भने आफूले किन जी–७ को बैठक छोडेको भन्ने विषयमा माक्रोंलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले योसँग इजरायल र इरान संघर्षको कुनै अर्थ नभएको बताएका छन्।

जी–७ बैठकसँग सम्बन्धित केही अधिकारीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको अनुपस्थितिमा महत्वपूर्ण निर्णय हुने सम्भावना कम रहेको बताएका छन्। यद्यपि जी–७ को पहिलो दिन ट्रम्प र बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले गत महिना अमेरिका र ब्रिटेनबीच भएको व्यापार सम्झौतालाई अन्तिम रूपमा दिएका थिए।