fbpx

काठमाडौँ ४ असार / नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलाको डाईभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवासको विनयी खोलामा गएरातिदेखि परेको पानीका कारण बाढी आएपछि निर्माण गरेको अस्थायी डाइभर्सन पुनः बगाएको छ । डाइभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ ।

उक्त स्थानमा डिभिजन प्रमुखको निर्देशनमा इन्जिनियरसहितको टोलीले छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास गरिरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । डाइभर्सन बगाएपछि गाडी आवागमन दुईतर्फी नै बन्द भएको छ । पानी परेसँगै विनयी खोलामा बाढी आएर डाइभर्सन पटक–पटक बगाउने गरेको छ ।

अहिले त्यस क्षेत्रमा इन्जिनियरसहितको टोली परिचालन गरेर छिटोभन्दा छिटो गाडी चल्न सक्ने गरी मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पानीको वहाव कम हुँदै गएकोले दिउँसोसम्म गाडी चलाउन सक्ने गरी काम हुने कार्यालयको दाबी छ ।