fbpx

काठमाडौँ १० असार / इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका कारण सोमबार रातिदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन् ।

कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए । हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए ।

कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ । गएराति रोकिएका उडान आज मध्याह्न १२ बजेका लागि तय गरिएको छ ।

कतारबाट काठमाडौँ आउने विमानको उडान पनि आज रद्द भएको छ । बिहान ८ बजेका लागि काठमाडौँ आइपुग्नुपर्ने विमान कतारले रद्द गरेको बताइएको छ ।

महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रुपमै उडान हुने विश्वास व्यक्त गर्नुभयो । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको सोमबार दोहा उडानमा २६९ यात्रु थिए । उनीहरुलाई आज गन्तव्यतर्फ पठाउन विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । कतारको परिस्थितिका कारण खाडी मुलुकका नियमित उडानमा केही बिलम्ब हुने बताइएको छ ।

सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना आएपछि उडान रद्द गरिएको थियो । वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए । नेपालका तीनसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।