fbpx

काठमाडौँ १५असार / प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक २०८० पारित भएको छ । २०८० सालको फागुन २१ गते संसद् सचिवालयमा दर्ता भएको विधेयक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधि सभाको आजको बैठकले बहुमतले पारित भएको हो ।

मन्त्री गुप्ताले यो विधेयक नेपालको संविधानको मर्मअनुसार आएको बताउँदै नौं दश वर्षदेखि अलपत्र रहेको विधेयक पारित भएकोमा खुशी व्यक्त गरे । विधेयकले कर्मचारीमा देखिएको अधिकांश असन्तुष्टि सम्बोधन हुने दाबी गर्दै उनले कर्मचारीको कार्यसम्पादन मापन गर्ने प्रणालीसम्बन्धी प्रणालीको विकास गरिएको जानकारी दिए ।

विधेयक पारित भएपछि सभामुख देवराज घिमिरेले संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रुपमा रहेको बताए ।

विधेयक पारित भएसँगै निजामती कर्मचारीको अन्तर प्रदेश सरुवाको बाटो खुला गरेको छ । सम्बन्धित प्रदेशको सहमतीमा पारिवारिक, स्वास्थ्यजन्य र विशेष कारणले कर्मचारीलाई राहत दिने उद्धेश्यसहित सरुवाको प्रावधान समेटिएको सरकारको भनाइ छ । अब स्थानीय तहका कर्मचारीले आफ्नो अनुकुल रहनेगरी अन्तर प्रदेश सरुवा गर्न पाउने भएका हुन् ।

यस्तै विधेयकले कर्मचारीहरुको कुलिङ पिरियड २ वर्ष हुने व्यवस्था पनि गरेको छ । विधेयकले अतिरिक्त सचिवको व्यवस्था गर्दै सचिवालयस्तरमा कार्याभार व्यवस्थापन र नीतिनिर्माण प्रक्रियामा विकेन्द्रिकृत दक्षता विकास गर्न मद्दत पुग्ने विश्वास सरकारको छ ।