fbpx

काठमाडौँ १९ असार / बौद्ध धर्मका आध्यात्मिक गुरु दलाई लामाले आफ्नो उत्तराधिकारीसम्बन्धी बहुप्रतीक्षित घोषणा गरेका छन् । उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका लामाले आफ्नो भावी पुनर अवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग रहने उनले बताए। उक्त ट्रस्टको स्थापना उनैले गरेका हुन्।

चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका माझ उनको सो घोषणा आएको छ। दलाई लामाले उनका उत्तराधिकारीबारे कुनै सङ्केत दिने अपेक्षाका माझ सयौँ अनुयायीहरू निर्वासित जीवन बिताइरहेका आफ्ना आध्यात्मिक गुरुको ९०औँ जन्मोत्सव मनाउन उत्तर भारतमा भेला भइरहेका छन्।

बुधवार दलाई लामाले एक भिडिओ सन्देश जारी गर्न लागेको उनको कार्यालयले बीबीसीलाई बताएको थियो। तर उनले त्यसमा के भन्न लागेका छन् भन्ने चाहिँ प्रस्ट भएको थिएन। सन् १९५९ मा चिनियाँ शासनविरुद्ध तिब्बतमा भएको विद्रोह विफल भएपश्चात् दलाई लामा भागेर भारत पुगेका थिए।

उत्तर भारतको पर्वतीय नगर धर्मशालामा उनले निर्वासित सरकारको गठन गरे। तिब्बतमा चीनको कडा नियन्त्रणको विरोध गर्नेहरूले उनलाई शक्तिको एक वैकल्पिक स्रोतका रूपमा हेर्छन्। आइतवारको ९०औँ जन्मदिन अगाडि बुधवारदेखि सुरु हुने गरी धर्मशालामा तीन(दिने १५औँ तिब्बती धार्मिक सम्मेलन भइरहेको छ।

विगतमा दलाई लामाले आफ्नो उत्तराधिकारीबारे आफ्नो ९०औँ जन्मदिन ताका विस्तृत बताउने भनेका थिए। सोमवार भएको भेलामा उनले कुनै एक प्रारूप हुने जसअन्तर्गत हामी दलाई लामाको संस्थाको निरन्तरताबारे कुराकानी गर्न सक्नेछौँ भनेका थिए।

त्यस्तै यी नोबेल शान्ति पुरस्कार विजेता तिब्बती आध्यात्मिक अगुवालाई विगतमा यस ६०० वर्ष पुरानो संस्था कायम राखिरहने वा नरहने भन्ने दुबिधा थियो। केही वर्ष अगाडि उनले आफ्ना उत्तराधिकारी महिला पनि हुन सक्ने वा कोही पनि नहुन सक्ने भनेका थिए।

तर पछिल्ला समयमा उनले यदि निर्वासनमा बसिरहेका तिब्बती समुदायमाझ बहुमत समर्थन छ भने – जुन छ ( उक्त संस्था निरन्तर रहने र उनको कार्यालयले उत्तराधिकारी छान्ने बताएका थिए। आफ्नो उत्तराधिकारी चीनभन्दा बाहिर जन्मने भनेर दलाई लामाले बताउँदै आएका छन्। त्यस टिप्पणीले चीन क्रुद्ध भएको छ।

तिब्बतको हैसियतलाई लिएर दलाई लामाले सदा मध्य मार्ग – चीनभित्र सच्चा स्वशासन – को वकालत गर्दै आएको भए पनि बेइजिङले उनलाई पृथकतावादी मान्छ। आफ्नो शासनमा तिब्बतका मानिसहरूको जीवनस्तर निकै सुधारिएको चीनको भनाइ छ।