fbpx

काठमाडौँ २० असार / रुसले युक्रेनको राजधानी कीभमा भिषण ड्रोन आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध रोक्ने प्रस्ताव नकारेको केही घण्टापछि मस्कोले कीभमा ड्रोन र मिसाइल बर्साएको हो ।

रुसले बिहीबार राति युक्रेनमाथि ५५० ड्रोन र ११ वटा मिसाइल प्रहार गरेको छ, जुन हालसम्मकै भिषण आक्रमण हो । जसमध्ये ७२ वटा ड्रोनलाई रक्षा प्रणालीले समेत रोक्न नसक्दा विभिन्न स्थानमा खसेर विस्फोट भएको थियो ।

रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पारेका छन् ।

उक्त अभिव्यक्तिसँगै रूसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण आरम्भ गरेको पुष्टि भएको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको टेलिफोन संवाद निष्कर्षविहीन रूपमा समाप्त भएको केही घण्टापछि सुरु भएको हो ।

राजधानी किभ लगायत युक्रेनका विभिन्न सहरहरूमा रातभरि ड्रोनको गुन्जन र विस्फोटहरूको आवाज सुनिएको थियो, जसमा युक्रेनी हवाई सुरक्षा प्रणाली सक्रिय रूपमा परिचालित रहेको जानकारी प्राप्त भएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले संवाददातासँग कुराकानी गर्दै भने, “हामी हाम्रो उद्देश्यहरू हासिल गर्न विशेष सैन्य अभियानलाई प्राथमिकता दिइरहेका छौँ, तर त्यसलाई राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नु अझ उपयुक्त हुनेछ ।” यद्यपि उनले वर्तमान अवस्थामा कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट गरे ।

राष्ट्रपति ट्रम्पले एक दिनअघि राष्ट्रपति पुटिनसँग भएको संवादमा युद्ध अन्त्यको विषयमा कुनै प्रगति नभएको जानकारी दिए ।युक्रेनी अधिकारीका अनुसार ट्रम्प र राष्ट्रपति भोलोदिमिर जेलन्स्कीबीच थप कुराकानी शुक्रबार नै तय गरिएको थियो ।