काठमाडौँ २२ असार / सङ्घीय संसद्का विभिन्न नौवटा समितिका बैठक आज बस्दैछन्। प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन्। यस्तै, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ।
त्यस्तै, राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक र संयुक्त समिति स्वरूप रहेको संसदीय सुनुवाइ समितिको बैठक पनि आजका लागि तय गरिएको छ।
अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्ने सदस्यहरूसँग छलफल हुनेछ। अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ मा संशोधनकर्तासँग छलफल गरिनेछ।
उद्योग, वाणिज्य र श्रम समितिमा सरकारले किसानलाई दिने रासायनिक मल अनुदान र त्यसको आयात तथा बिक्री वितरणसम्बन्धी कोटामाथि छलफल हुनेछ।
कृषि तथा सहकारी समितिमा आगामी कार्यक्रम र समसामयिक विषयहरूमा छलफल हुनेछ। पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी मरिण डाइभर्सन आयोजना लगायत विविध विषयमा छलफल गरिनेछ।
संघीयता सबलीकरण समितिमा स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल हुने छ भने संसदीय सुनुवाइ समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा सुनुवाइका लागि सिफारिस भएका व्यक्तिहरूका सम्बन्धमा विचार–विमर्श गरिनेछ।
संसदका दुवै सदन प्रतिनिधिसभा असार २३ गते र राष्ट्रियसभा असार २४ गतेका लागि निर्धारित भएकाले समितिहरूमा महत्त्वपूर्ण विधेयक अगाडि बढाउने तयारीस्वरूप यी बैठकहरू सञ्चालन गरिँदैछन्।

