काठमाडौँ २२ असार / नेपाल शिक्षक महासङ्घको वैधानिकतामाथि गम्भीर प्रश्न उठाउँदै शिक्षक नारायणप्रसाद घिमिरे र शङ्करबहादुर कुमालले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निवेदन दर्ता गराउँदै महासङ्घका सम्पूर्ण गतिविधिमा रोक लगाउन माग गर्दै संसदीय समितिमा उजुरी परेको छ। महासङ्घ अवैध रूपमा सञ्चालन भइरहेको र गैरकानुनी रूपमा रकम असुली गरिरहेको आरोप लगाएका छन्।
समितिमा मिति २०८१ जेठ १९ गते दर्ता भएको उक्त निवेदनमा शिक्षा ऐन, २०२८ को आठौँ संशोधनले साविकको ‘नेपाल शिक्षक युनियन लाई नै ‘नेपाल शिक्षक महासङ्घ’ मा शाब्दिक रूपमा रूपान्तरण मात्र गरेको तर हाल लक्ष्मीकिशोर सुवेदीको अध्यक्षतामा सञ्चालित महासङ्घ त्यो नभएको जिकिर गरिएको छ।
निवेदकहरूले दर्ता सम्बन्धमा जानकारी माग्दा सम्बन्धित कार्यालयले आफ्नो कम्प्युटर अभिलेखमा उक्त दर्ता नम्बर नदेखिएको भनी पत्रमार्फत जानकारी दिएको समेत उल्लेख गरेका छन्।
महासङ्घले दर्ता बिना नै अनाधिकृत रूपमा लेटरप्याड र छाप प्रयोग गर्ने, सदस्यता शुल्क र नवीकरण दस्तुरका नाममा रकम उठाउने जस्ता गैर कानुनी गतिविधि गरिरहेकोले तत्काल त्यसलाई रोकेर अनुसन्धान गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ।


