काठमाडौँ २३ असार / प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ मजबुत बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री क्यासिसले नेपालको विकास, संघीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुई ठुला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको रक्षाको ध्येयसहित सरकार बनेकाले स्थितिमा क्रमिक सुधार आएको बताएका थिए।
भेटका अवसरमा नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

