काठमाडौँ २४ असार / गए राति आएको भीषण बाढीले नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा रसुवागढी हाइड्रोपावरसहित विभिन्न परियाेजनामा क्षति पुगेकाे छ । बाढीबाट विभिन्न परियाेजनामा क्षति पुग्दा करिब २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको नेपाल प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बगाएको छ । सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ ।
यस्तै, ६० मेगावाट क्षमताको त्रिशूली ३ ए जलविद्धुत आयोजनामा पनि क्षति पुगेकाे छ । आयोजनाबाट विद्युत उत्पादन बन्द भएको उनले जनाए । जसकाे सबस्टेसनलाई हिलोले छोपेको शाक्यले जानकारी दिएका छन् ।
त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको उनले जानकारी दिएका छन् । बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ ।

