काठमाडौँ २५ असार / जिल्ला प्रशासन कार्यालय, कास्कीले बाढी र पहिरोको जोखिम बढ्ने देखेपछि ग्रामीण सडकहरूमा बुधबारदेखि लागू हुने गरी १५ दिनसम्मका लागि सवारी साधन सञ्चालनका लागि समय निर्धारण गरेको छ ।
असार २३ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । सम्भावित क्षतिबाट यात्रु तथा सवारी साधनलाई जोगाउन यस्तो निर्णय गरिएको जारी सूचनामा उल्लेख छ ।
अब अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूले तोकिएको समयमा मात्र यात्रा गर्न पाउनेछन् । बैठकले विरेठाँटीबाट घान्द्रुक, विरेठाँटीबाट उल्लेरी र लुम्लेबाट लान्द्रुक जाने सवारी साधनहरू साँझ ५ बजेभित्र छुटिसक्नुपर्नेछ । उता घान्द्रुक, उल्लेरी र लान्द्रुकबाट विरेठाँटी र लुम्लेतर्फ आउने सवारी साधनहरूले भने बिहान ५ बजेपछि मात्र यात्रा गर्न पाउनेछन् ।
काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनहरूले साँझ साढे ४ बजेभित्र प्रस्थान विन्दु छाडिसक्नुपर्नेछ । ताङ्तिङबाट काहुँखोला फर्कने सवारी साधनहरूले बिहान ५ बजेपछि मात्र चल्न पाउनेछन् । सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा सबैलाई तोकिएको समय-तालिका पालना गर्न आग्रह गरिएको छ ।

