काठमाडौँ २५ असार / गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी विषयमा सार्वजनिक रुपमा अनेक अड्कलबाजी गरिएको भन्दै प्रतिनिधिसभामा स्पष्ट जानकारी दिन आग्रह गरेका छन्।
गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग भ्रमणमा जानेहरूको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेर जाने भएकाले सबै फर्किएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीसँग भ्रमणमा गएको को नफर्किएको देखाउन चुनौती दिए ।
उनले भने, ‘प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका मानिसहरू उतै बसेको भन्ने कुरा उठेको छ । हामीले कुनै पनि विषयको न्यूनतम ज्ञान जानकारी राख्नुपर्छ, सदनमा जिम्मेवार भएर विषयवस्तुलाई मर्यादीत ढङ्गले प्रस्तुत गर्दा राम्रो हुन्छ ।’
यो विषय सदनमा रास्वपाकी सांसद सोविता गौतमले प्रवेश गराएकी थिइन् । गृहमन्त्री लेखकले यस्ता कुरा बोल्दा अनुमान र कल्पनामा नबोल्न आग्रह गरे ।
असत्यको पुलिँदा बाँधेर कहीँ पनि पुगिँदैन उनले भने,। प्रधानमन्त्रीसँग जानुभएको प्रतिनिधिमण्डल सरकारबाट निर्णय भएर गएको छ । त्यो सबैलाई थाहा छ ।

