काठमाडौँ २७ असार / आज विश्व जनसंख्या दिवस। विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ। विश्व जनसंख्या दिवस प्रत्येक बर्ष जुलाई ११ मा मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ।
यो दिवसका अवसरमा महासचिव एन्टोनियो गुटरेसले मन्तव्य व्यक्त गर्दै निष्पक्ष, शान्तिपूर्ण र आशाले भरिएको विश्व निर्माण गर्न युवालाई साथ दिनुपर्नेमा जोड दिएका छन् । आज जारी गरेको सन्देशमा उनले दिगो विकास, शान्ति र मानव प्रतिष्ठाका लागि उनीहरूका अधिकारको समर्थन आवश्यक भएको बताएका छन्।
राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसंख्या सात गुणाले बढ्यो। सन् २०११ मा विश्वको जनसंख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ।
जनसंख्या निरन्तर वृद्धि भइरहेको छ। सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ।
जनसंख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ। विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ।
राष्ट्रसंघीय जनसंख्या कोषले चौध देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणअनुसार प्रजनन उमेरका अधिकांश वयस्कले इच्छाअनुसार बच्चा नजन्माउनुको कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षतिलाई मानिएको छ।

