काठमाडौँ २७ असार / लाखौँ सवारी साधन गुड्ने काठमाडौँ उपत्यकामा पछिल्लो समय अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण बढेको गुनासो आएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई हर्नको प्रयोग नगर्न अनुरोध गरेको छ।
चालकले अनावश्यक रूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण भई ज्येष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणमा गम्भीर असर पर्ने भएकाले अत्यावश्यक र विशेष परिस्थितिमा बाहेक हर्न प्रयोग नगर्न कार्यालयले आग्रह गरेको हो।
कसैले अनावश्यक हर्न बजाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (१) ३ बमोजिम ध्वनि प्रदूषण गर्न नहुने व्यवस्था अनुसार कारबाही गरिने समेत ट्राफिक प्रहरी कार्यालयले स्पष्ट पारेको छ।

