काठमाडौँ २७ असार / चर्चित हास्य कलाकार तथा अभिनेता कपिल शर्माले क्यानडामा केही दिनअघि मात्रै उद्घाटन गरेको क्याफेमा गोली प्रहार भएको छ। कमेडियन शर्माका फ्यानका लागि नराम्रो खबर आएको छ। २ वर्षको कडा परिश्रमपछि शर्माले परिवारसँग मिलेर क्यानडामा व्यवसाय सुरु गरेका थिए।
रेस्टुरेन्टको कफी र खानाको स्वाद लिन ठुलो भीड लाग्ने गरेको थियो । तर क्याफे खोलेको केही दिनमै गोलीबारी भएको खबर आएको छ।
कपिलको क्याफे रहेको भवनमा केही अज्ञात व्यक्तिले आक्रमण गरेका छन्। केही राउन्ड गोलीबारी भएको छ। आक्रमणकारी कारमा आएर गोलीबारी गरेको समाचारमा उल्लेख छ। तर घटनामा कोही पनि घाइते नभएको जनाइएको छ।
आतंककारी हरजीत सिंह लड्डीले यस गोलीबारीको जिम्मेवारी लिएका छन्। लड्डी भारतको एनआईएको मोस्ट वान्टेड आतंककारी हुन्। उनी बीकेआई (बब्बर खालसा इन्टरनेशनल) सँग सम्बन्धित छन् । स्रोतका अनुसार लड्डीले कपिलको पुरानो बयानका कारण आक्रमण गरेको बताएका छन्।

