fbpx

एजेन्सी २९ असार / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मेक्सिको र युरोपेली सङ्घ (इयू)लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भनेका छन्, “करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुनेछन् ।

उनले यदि यी व्यापार साझेदारहरूले प्रतिशोधात्मक कदम चालेमा शुल्क अझ बढाउने चेतावनी दिएको बीबीसीले जनाएको छ । ट्रम्पले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनलाई पठाएको पत्रमा अमेरिकाको ईयूसँगको व्यापार सम्बन्धमा लामो समयदेखि रहेको ठूलो र निरन्तर व्यापार घाटा, उनीहरूको शुल्क र गैर-शुल्क नीति तथा व्यापार अवरोधका कारण उत्पन्न भएको उल्लेख गरेका छन्।

उनले यो सम्बन्ध ‘पारस्परिक’ नभएको पनि बताएका छन्। यदि ईयू वा मेक्सिकोले अमेरिकाविरुद्ध आफ्नै आयात शुल्क लगाएमा, ट्रम्पले त्यसको प्रतिक्रियामा ३० प्रतिशतभन्दा बढी समान प्रतिशतले शुल्क बढाउने चेतावनि दिएका छन्। ईयू र मेक्सिकोका अतिरिक्त, ट्रम्पले यस हप्ता जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलबाट आउने वस्तुहरूमा पनि नयाँ शुल्कहरू अगस्ट १ बाटै लागू हुने घोषणा गरेका छन्। यस्तै पत्रहरू केही साना अमेरिकी व्यापार साझेदारहरूलाई पनि पठाइएको छ।

ईयूले अगस्ट १ अघि नै वाशिंगटनसँग सम्झौता गर्ने आशा व्यक्त गरेको छ। ईयूले आफू खुला व्यापार र निष्पक्ष व्यापारिक अभ्यासहरूमा विश्वास गर्ने जनाएको छ। भोन डेर लेयनले ईयू “अगस्ट १ सम्ममा सम्झौताका लागि काम गर्न तयार रहेको” बताएकी छन्। यद्यपि, उनले ईयूको हितको रक्षाका लागि आवश्यक भएमा “समानुपातिक प्रतिउपाय” अपनाउन पनि तयार रहेको स्पष्ट पारेकी छन्।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले ट्रम्पको घोषणाप्रति “कडा असहमति” व्यक्त गर्दै यदि कुनै सम्झौता नभएमा ईयूले “विश्वसनीय प्रतिउपायको तयारीलाई तीव्र पार्ने” सुझाव दिएका छन्। इटालीका प्रधानमन्त्री जर्जिया मेलोनईले “निष्पक्ष सम्झौता” मा पुग्न सकिने विश्वास व्यक्त गर्दै एटलान्टिकका दुई किनारबीच व्यापार युद्ध सुरु गर्नुको कुनै अर्थ नभएको बताएकी छन् ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री डिक स्कुफले ईयूले अमेरिकासँग “आपसी लाभदायी” सम्झौता गर्न “एकताबद्ध र दृढ” रहनुपर्ने बताएका छन्।