काठमाडौँ २९ असार / जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले देशभर वर्षाको सम्भावना देखिएको छ।
महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति पनि कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

