काठमाडौँ २ साउन / सत्तारुढ नेकपा (एमाले) को बिहीबार रातिसम्म चलेको सचिवालय बैठकले दशौं महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ ।
योसँगै एमालेको सक्रिय राजनीतिमा फर्किएकी विद्या भण्डारी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको दोस्रो विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी हुन् ।
उनीसँगै मनोनीत भएका केन्द्रीय सदस्य पनि प्रतिनिधि बन्न नपाउने भएका छन् । स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने लगायत पनि प्रतिनिधि बन्न पाउने छैनन् । केन्द्रीय कमिटीमा मनोनीत भएकाहरू आयोजकको हैसियतले मात्रै सहभागी हुने ज्ञवालीले जानकारी दिए ।
उपाध्यक्ष बिष्णु पौडेलले प्रस्ताव गरेको विधान संशोधनमा ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी थियो । सचिवालय बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो ।
एमालेको केन्द्रीय कमिटीमा तीन तहको संरचना रहनेछ । केन्द्रीय कमिटीभित्र पोलिटब्युरो र स्थायी कमिटी रहने सचिवालयको प्रबन्ध हटाएर स्थायी कमिटी मात्रै रहने प्रबन्ध गरिएको उनले बताए । त्यस्तै एमालेमा अब दुई खालका सदस्य रहने पनि प्रबन्ध गरिएको उनले जानकारी दिए ।

