काठमाडौँ २ साउन / रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजार नजिकै जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । शुक्रबार बिहान त्रिबेणी गाउँपालिका १ रुँघाबाट मुसीकोटको खंलगातर्फ जाँदै गरेको लु १ ज ४११२ नम्वरको जिप अनियन्त्रित भई राप्ती राजमार्गको मोडमा दुर्घटना भएको हो ।
घाइते हुनेमा जिप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी–२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ का शिवकुमारी शर्मा छन् । घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरी चौकी सिम्रुतुले जनाएको छ ।
जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो । जिप चालकसहित १० जना यात्रु रहेका थिए । घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घाइतेको हातखुट्टा र टाउकामा चोट लागेको बताएको छ ।

