fbpx

काठमाडौँ ३ साउन / दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानमाथि ८-० गोलको जित निकालेको हो।

नेपालको जितमा पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले एक–एक गोल थपे । यो जितसँगै नेपालले ५ खेलबाट १२ अंक बनाएर आयोजक बंगलादेशलाई गोलअन्तरमा पछि पार्दै शीर्ष स्थान ओगटेको छ ।

एक खेल कम खेलेको बंगलादेशको पनि १२ अंक नै छ । तर, नेपालले ३० गोल गर्दै ४ गोल मात्र खाएको छ भने बंगलादेशले १९ गोल गर्दा ४ गोल खाएको छ ।

शनिबार नै दोस्रो खेलमा बंगलादेश र श्रीलंका भिड्दै छन् । उक्त खेलमा बंगलादेशले जित निकाल्ने सम्भावना उच्च भएकाले पुनः शीर्ष स्थानमा फर्किन सक्छ । त्यस अवस्थामा सोमबार हुने नेपाल र बंगलादेशबीचको खेल उपाधिका लागि निर्णायक हुनेछ ।