काठमाडौँ ४ साउन / प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वार्ताका लागि यसअघिनै पुगिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाइ भेट्न पार्टी कार्यालय च्यासल पुगेका छन्।
भण्डारी पार्टी कार्यालय पुगेको केहीबेरमा अध्यक्ष ओली पनि आइपुगेका हुन्। उनीहरूबीच केहीबरेमा भेटवार्ता सुरु हुनेछ। एमालेको केन्द्रीय कमिटी बैठक बस्नुभन्दा एक दिनअघि हुन लागेको यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको घोषणा गरेलगत्तै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई वार्तामा बोलाएका हुन् । ओलीसमेत उपस्थित गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गरिसकेकाले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
तर ओलीले शनिबारको पोलिटब्युरो बैठकमा नवीकरण भइसकेको भण्डारीको सदस्यता पेन्डिटङमा राखिएको बताएका थिए । भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिन आफूनिकटहरूलाई समेत आक्रमक रुपमा उतारेका ओली संवाद गर्न भने तयार भएका छन् ।
उनले भण्डारीसँग संवादका लागि आइतबार दिउँसो ३ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाएका थिए । तर निर्धारित समय भन्दा सवा घण्टा ढिलो यी दुई नेताबीच भेट हुँदैछ । भण्डारी दुई कार्यकाल राष्ट्रपति हुनुअघि एमालको नवौँ महाधिवेशनबाट उपाध्यक्ष भएकी थिइन् ।
पूर्वराष्ट्रपतिले एमालेमा फर्किन घोषणा गरिसकेको अवस्थामा गत बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसबारे नेताहरूलाई सोधेका थिए । त्यसक्रमा नेताहरूले ओली आफैंले अग्रसरता लिएर संवाद गर्नुपर्ने सुझाव दिएका थिए ।
नेताहरूले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मानजक रुपमा व्यवस्थापन गर्ने कुरा एमालेको दायित्व भएको पनि बताएका थिए । तर त्यसपछि बसेको पोलिटब्युरोमा ओली र उनीनिकट नेताहरूले भण्डारीलाई छेक्ने गरि प्रस्तुत भएका थिए ।

