काठमाडौँ ४ साउन / शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भएको प्रवेश परीक्षाको नतिजा काठमाडौँ महानगरपालिकाले निकालेको छ ।
महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा हेर्न प्राप्त पासवर्ड र विवरणबाट लगइन गरी रिजल्ट हेर्न सकिन्छ। परीक्षा ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो।महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाएका थिए ।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहु वैकल्पिक प्रश्नहरू सोधिएका थिए। गलत उत्तरका लागि नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक रहेको शिक्षा विभागले जनाएको छ ।
नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशित गरेको छ। विद्यार्थीहरूले आफ्नो एसइई सिम्बोल नम्बर, जन्म मिति र इमेल वा एसएमएस मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन्। काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयहरूमा ४ हजार भन्दा बढी छात्रवृत्ति सिटहरू उपलब्ध छन्।

