काठमाडौँ ४ साउन / जिल्ला प्रशासन कार्यालय कास्कीले मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि आइतबार साँझदेखि सिद्धार्थ राजमार्गमा सवारी साधन चलाउन रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले लामो दुरीका सवारी साधन आज साँझ ४ बजे र छोटो दुरीका सवारी साधन साँझ ५ बजेबाट चलाउन प्रशासनले रोक लगाउने निर्णय गरेको हो ।
कास्की जिल्लाका विभिन्न स्थानमा शनिबार रातिदेखि भारी तथा मध्यम वर्षा भइरहेको र अझै केही दिन भारी वर्षा हुन अनुमान जल तथा मौसम विज्ञान विभागले गरेकोले सुरक्षा सतर्कताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
जिल्ला सुरक्षा समिति, कास्कीको ४ साउनको निर्णयानुसार कास्की जिल्लाबाट स्याङ्जा हुँदै सिद्धार्थ राजमार्ग भई चल्ने अत्यावश्यक सेवा बाहेकका लामो दुरीका सवारी साधनहरू ४ साउन साँझ ४ बजेपछि र छोटो दुरीका सवारी साधनहरू साँझ ५ बजेपछि प्रस्थान बिन्दु (कास्की जिल्लाको छोरेपाटन ) बाट गन्तव्य स्थानका लागि सञ्चालन नगर्नु नगराउनुहुन र अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन गर्नुपर्ने अवस्थामा नजिकको सुरक्षा निकायसँग समन्वय गरी सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछौँ’ प्रशासनले जारी गरेको सूचनामा छ ।


