काठमाडौँ ८ साउन / अब सेयर नै नहुने डिम्याट खाता रोक्का हुने भएको छ । साथै पाँच वर्षदेखि नवीकरण नगरेका डिम्याट खातासमेत स्थगन गरिने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर मौज्दात नभएका र विगत पाँच वर्षदेखि नवीकरण नगरिएका हितग्राही (डिम्याट) खाता बन्द गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यो व्यवस्था समावेश गर्दै सीडीएस एस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) लाई सम्बन्धित विनियमावली संशोधन गर्न निर्देशन दिएको हो ।
लामो समयदेखि निष्क्रिय रहेका र कुनै पनि शेयर नभएका डिम्याट खाताहरू बन्द गरिनेछ । यस्ता खाताहरू बन्द गर्दा नवीकरण शुल्क प्राप्त हुन नसकेमा सो छुट दिने र निक्षेप सदस्यले नवीकरण शुल्क प्राप्त गरेपश्चात मात्र केन्द्रीय निक्षेप कम्पनीलाई बुझाउनुपर्ने दस्तुर वा शुल्क बुझाउने व्यवस्था गरी सम्बन्धित विनियम संशोधनका लागि बोर्डमा पेश गर्न निर्देशन दिइएको छ।
निष्क्रिय खाता हटाउने नीति ल्याइए पनि शेयर बजारमा लगानीकर्ताको आकर्षण भने बढेको देखिन्छ । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ २० असारसम्ममा डिम्याट खाता खोल्ने लगानीकर्ताको कुल संख्या ६८ लाख ६५ हजार पुगेको छ।

