fbpx

काठमाडौँ २१ साउन / मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका– २ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारम ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ। मध्यराति तस्करी भइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।उपचारकै क्रममा उनको ‌ मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले स्थिति नियन्त्रणमा लिन केही राउन्ड गोली चलाएको र तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा मृत्यु भएको बताए ।

उनकाअनुसार झडपमा एक जना प्रहरी पनि घाईते भएका छन् । झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको जनाएको छ ।