काठमाडौँ ३ भदौ / गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेका गृहमन्त्री रमेश लेखकले फैसला कार्यान्वयन पनि आक्रामक रूपमा अघि बढाएका छन् ।
मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद र जरिमाना सजाय पाएर फरार रहेका अभियुक्तहरूलाई पक्राउ गर्न गृहमन्त्री लेखकले प्रहरीलाई सक्रिय बनाएकै कारण उनको कार्यकालको पहिलो वर्ष (गत आर्थिक वर्ष २०८१÷०८२)मा हालसम्मकै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ परेको तथ्यांकले देखाएको छ ।
अघिल्लो आव २०८०÷०८१ मा देशभरबाट कुल १४ हजार ७ सय ६४ जना फरार अभियुक्त नेपाल प्रहरीले पक्राउ गरेको थियो । अघिल्लो आवको भन्दा गत आवमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३ सय ८२ जना फरार अभियुक्त पक्राउ गरिएको छ । जुन अघिल्लो आवको तुलनामा ६५ दशमलव शून्य ८ प्रतिशतले बढी हो ।
यसैगरी, प्रहरीले आव २०७९÷०८० मा ११ हजार ९ सय २ जना फरार अभियुक्त पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
गत आवमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा गृह मन्त्रालय र मातहतको निकाय सक्रिय रहँदा परिणाम उत्कृष्ट आएको हो । गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष (गत आव २०८१÷०८२ ) मा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सबैभन्दा बढी ६ हजार ३ सय ७५ जना फरार अभियुक्त पक्राउ गरेको देखिएको छ ।
यसैगरी, कोशी प्रदेश प्रहरीले ३ हजार ४ सय ८९, मधेश प्रहरीले ५ हजार ७ सय १२, बागमती प्रदेश प्रहरीले १ हजार ७ सय ३, गण्डकी प्रदेश प्रहरीले १ हजार ४ सय ९१, लुम्बिनीले ३ हजार ९ सय ९६, कर्णाली प्रदेशले ५ सय ५६, सुदूरपश्चिम प्रदेशले ९ सय २८ र केन्द्रीय अनुसन्धान ब्युरोले १ सय ३२ जना फरार अभियुक्त पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गत आवमा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी जरिमाना रकमसमेत असुलउपर भएको छ । यसैगरी, जिल्लास्तरको फैसला कार्यान्वयनको विवरण हेर्दा काठमाडौं प्रहरी परिसर अग्रस्थानमा छ । जनघनत्व बढी भएको राजधानी काठमाडौंमा हरेक दिनजसो ठूला र साना अप्रेसन चलाइरहेका काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले काठमाडौंबाट मात्रै ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका छन् ।
काठमाडौं परिसरको उपलब्धि शान्ति सुरक्षामा मात्रै सीमित छैन । जनशक्ति अभाव र सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी अधिकारीले फैसला कार्यान्वयनमा पनि जबर्जस्त उपलब्धि हासिल गरेका छन् ।
काठमाडौं प्रहरी परिसरले गत आवमा देशभरमै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको रेकर्ड छ । एक वर्षको अवधिमा परिसरले काठमाडौंबाट मात्रै ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए ।
‘काठमाडौं परिसरले आव २०८०÷०८१ मा १ हजार ६७ जना फरार अभियुक्त पक्राउ गरेको थियो,’ उनले भने, ‘अहिले त्यो संख्या वृद्धि गरेर ५ हजार ५ सय ८५ पु¥याउन काठमाडौं प्रहरी परिसर सफल भएको छ ।’
उनले आफूहरूले फैसला कार्यान्वयनलाई विशेष रणनीति बनाएर लागू गरिरहेको जानकारी दिए । नेपाल प्रहरी संगठनको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार दण्डहीनताको अन्त्यका लागि फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा समेत राखिएको छ ।
त्यस्तै, गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष सहकारीसम्बन्धी ८२ वटा मुद्दा दर्ता भएका छन् । सहकारी प्रकरणमा विभिन्न राजनीतिक दलका उच्च तहका नेताहरूसमेत कानुनको दायरामा आएका छन् । मुलुकभरबाट सहकारी मुद्दाका पुरुष र महिला गरी ४५ जना पक्राउ परेका छन् । आजको राजधानी दैनिक बाट

