fbpx

काठमाडौँ १० भदौ / नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले सुर्खेतको भेरीगंगा नगरपालिका १२, छिन्चुमा बोल्दै नेपाल प्रहरी नागरिकको विश्वासको प्रतीक बन्नुपर्ने बताएका छन्।

सोमबार इलाका प्रहरी कार्यालय परिसरभित्र नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको ११ कोठे भवनको उद्घाटन गर्दै महानिरीक्षक थापाले यो सुविधा सम्पन्न भवन ढुंगा र सिमेन्टबाट बनेको संरचना मात्र नभई नागरिकको विश्वास र आस्थाको केन्द्र बन्ने बताएका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावलाई प्रशंसापत्र प्रदान गरे । प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरूद्ध हुने हिंसा, घरेलु हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताए ।

सो अवसरमा भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले कर्णालीमा पर्याप्त पूँजी, प्रविधि र मानव दक्ष जनशक्ति भए मुलुकलाई धेरै योगदान गर्न सक्ने बताए।

कर्णालीमा लागुऔषध, सवारी दुर्घटना, जातीय विभेद, बालविवाह र घरेलु हिंसा विद्यमान रहेको जनाउँदै उनले यसको नियन्त्रण तथा निराकरणका लागि नेपाल प्रहरीको प्रभावकारी भूमिका हुनुपर्ने धारणा राखेका थिए।