fbpx

काठमाडौँ १३ भदौ / नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा कुँवर आगामी भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि खापुङलाई यो जिम्मेवारी दिइएको हो। नवनियुक्त आइजीपी खापुङले आगामी भदौ १९ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन्।

अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यसै महिना अवकाशमा जाँदै छन् । थापा ३० वर्षे सेवाअवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका हुन् ।

प्रहरी विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा छ । ऐन पास भएको भए थापाको कार्यकाल कम्तीमा थप ६ महिना थप हुने थियो । नयाँ प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि क्रमशः हटाउने प्रस्ताव छ । करिब ६ महिना आईजीपी भएर उनी अवकाशमा जान लागेका हुन् ।

खापुङ महानिरीक्षकका लागि एकल दाबेदार रहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका थिए ।

दोस्रो लटमा नियुक्ति लिएका दीपक थापा कुँवर पछि आईजीपी भएका हुन् । थापासँगै नियुक्ति लिएका एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि भदौ १८ मा अवकाशमा जाँदै छन् ।

३२ औँ प्रहरी महानिरीक्षक बन्न लागेका खापुङ हालसम्म विवादमा परेका छैनन् । प्रहरी उपरीक्षक (एसपी) हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका खापुङले एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरे । डीआईजीमा उनले कोशी प्रदेशको कमाण्ड गरेका थिए ।

खापुङ यसै वर्ष वैशाख १६ मा एआईजीमा बढुवा भएका थिए । ६ जना एआईजीमा बढुवा हुँदा उनी मेरिट लिस्टको पहिलो नम्बरमा थिए ।