fbpx

काठमाडौँ २३ भदौ / ‘जेन जी’ भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा काठमाण्डौको बानेश्वर क्षेत्रमा र सुनसरीमा समेत गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ । अस्पतालहरूका अनुसार ज्यान गुमाउने र गम्भीर अवस्थाका धेरै घाइतेको टाउको र छातीमा गोली लागेको छ ।

अस्पतालहरूको विवरण अनुसार काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको ज्यान गएको हो । यस्तै इटहरीकाे सुनसरीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएकाे हाे ।

‘जेन जी’ हरू सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूलाई ‘जेन जी’ पुस्ता भनिन्छ ।

विश्वव्यापीकरणको प्रभावले यो पुस्ता धेरै परिवर्तनबारेमा जानकार रहे पनि नेपालमा परम्परागत शासकका कारण रुष्ट छन् । यिनीहरूले सामाजिक सञ्जालको भित्तामा आन्दोलन गर्दै आएकामा सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सडकमा आएका हुन् ।