fbpx

काठमाडौँ २९ भदौ / काठमाडौंस्थित अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गरी प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । अमेरिकाले नेपालमा भएका पछिल्ला घटनापछिको शान्तिपूर्ण समाधानको समेत स्वागत गरेको छ ।

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकोमा स्वागत गरेको हो । अमेरिकाले लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गरेको छ ।

अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि निर्वाचनमा सघाउने तत्परता व्यक्त गरेको छ। राष्ट्रपति, प्रधानसेनापति र युवा नेताहरूको भने उसले प्रशंसा गरेको छ।

नेपालस्थित अमेरिकी दूतावासले कार्कीको नियुक्तिप्रति बधाइ वा शुभकामना केही नभनी ‘गत हप्ताको दुःखद घटनापछि शान्ति पुनर्स्थापना र शान्तिपूर्ण समाधानको स्वागत गर्दछौँ’ भनेको छ।

‘क्षतिमा शोक मनाइरहँदा पनि लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौँ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हामी नेपाली सेना र प्रधानसेनापति जनरल अशोकराज सिग्देललाई व्यवस्था पुनर्स्थापित गर्न र नागरिक सरकारको शान्तिपूर्ण संक्रमणलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं। हामी आगामी महिनाहरूमा अन्तरिम सरकारसँग काम गर्न तत्पर छौं, किनकि नयाँ चुनावको तयारी गरिरहेको छ भनेको छ।