fbpx

काठमाडौँ २९ भदौ / सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको छ।

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा लाइसेन्स छपाइ तथा वितरण गर्ने कार्यालयहरू तोडफोड र आगजनीबाट पूर्णरुपमा ध्वस्त भएसँगै यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सूचनामा अर्को व्यवस्था नहुन्जेलसम्म लाइसेन्स छपाइ र वितरणसहितका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द हुने उल्लेख गरिएको छ।

विभागका अनुसार हालै भएको तोडफोड, आगजनी तथा चोरी, लुटपाटका कारण विभागको संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको हो।

यसै कारण सेवाग्राहीलाई प्रदान हुँदै आएको सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवासमेत अवरुद्ध भएको विभागले जनाएको छ।