fbpx

काठमाडौँ ६ असोज / चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड आज दिउँसो २ घन्टा बन्द रहने भएको छ। यस सडकखण्डको तुइनखोलामा खसेको पहिरो हटाउन दुई घन्टा सडक बन्द गर्न लागिएको हो।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो बन्द गरेर सफाइ गरेसँगै दुईतर्फी सञ्चालनमा ल्याउन सकिने छ। इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा पहिरो खस्दा गत शुक्रबारदेखि सडक अवरुद्ध भएको थियो। आइतबार साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको भए पनि रातको समयमा सडक बन्द गरिएको थियो।

पहिरोका कारण सडक रोकिएपछि अलपत्र परेका यात्रुहरूलाई जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा खाद्यान्न वितरण र स्वास्थ्य परीक्षण गरिएको थियो।