fbpx

काठमाडौँ १३ असोज / अर्थ मन्त्रालयले विभिन्न व्यक्तिहरुले स्रोत नखुलेको पैसा लुकाएको भन्नेबारे सरकारले तीव्र अनुसन्धान गरिरहेको जनाएको छ। आइतबार सूचना जारी गर्दै मन्त्रालयले यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको जनाएको हो।

अर्थ मन्त्रालयले ठूलो रकम घरमा नराख्न आग्रह गर्दै विद्युतीय कारोबारमार्फत भुक्तानीका लागि प्रोत्साहन गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानीमार्फत गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको सम्बन्धमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको समेत जनाएको छ ।

त्यस्तै स्रोत खुलेको र प्रचलित कानूनबमोजिम आय आर्जन भएको रकम आफूसँग राख्न व्यवधान नरहेको समेत मन्त्रालयले प्रष्ट पारेको छ ।

उक्त व्यवस्थाबाहेक स्रोत नखुलेको नगद कहीँ कतै भेटिएको अवस्थामा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको मन्त्रालयले उल्लेख गरेको छ।