fbpx

काठमाडौँ १५ असोज / राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन बुधबार नवकन्याहरुको पूजा गरेका छन्। बुधबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेका हुन्।

विजया दशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ।

वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिएपनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो।

प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नवकन्याको पूजा गर्ने प्रचलन छ । दुर्गाभगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको प्रतिनिधि मान्दै नवकन्याको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले परम्परालाई निरन्तरता दिएका हुन् ।