fbpx

काठमाडौँ १५ असोज / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति स्थापनाका लागि आफूले तयार पारेको योजनामा जवाफ दिन हमासलाई अल्टिमेटम दिएका छन्।

उनले पत्रकारलाई इजरायली र अरब नेताहरूले उक्त योजना पहिले नै स्वीकार गरिसकेको जानकारी दिए । मंगलबार ह्वाइट हाउसमा ट्रम्पले भने, “हमासले या त यो गर्नेछ वा नगर्नेछ । र यदि नगरेको खण्डमा यो निकै दुःखद अन्त्य हुनेछ ।”

प्रस्तावमा वार्ताका निम्ति धेरै ठाउँ नरहेको उनले स्पष्ट पारे । ट्रम्पले सोमबार वासिङटन डीसीमा आफूसँग भेट गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई योजनामा सहमत भएकामा धन्यवाद दिएका थिए ।

ट्रम्पको यो टिप्पणी ह्वाइट हाउसले २० बुँदे दस्तावेज जारी गरेको एक दिनपछिको हो । उक्त दस्ताबेजमा गाजापट्टीमा तत्काल युद्धविराम, हमासद्वारा बन्दी बनाइएका इजरायली कैदीको सट्टामा इजरायली जेलमा रहेका प्यालेस्टाइनीको आदानप्रदान र गाजाबाट इजरायली सेनाको चरणबद्ध फिर्तीको प्रावधान उल्लेख छ ।

योजनामा हमासले गाजाको शासनमा कुनै भूमिका नखेल्ने प्रावधान पनि छ । हमास सदस्यले शान्तिपूर्ण सहअस्तित्वको प्रतिबद्धता जनाएमा आममाफी पाउने र गाजा छाड्न चाहनेहरूलाई सुरक्षित विदेश मार्ग उपलब्ध गराइने त्यसमा उल्लेख छ ।

ट्रम्पले यो योजनाले गाजामा दैनिक सेवा उपलब्ध गराउन प्यालेस्टाइनी टेक्नोक्र्याटको नेतृत्वमा अन्तरिम सरकार गठन, स्वशासन निश्चित गर्ने, विस्थापित बासिन्दालाई फिर्ता ल्याइने र गाजावासीलाई विस्थापन नगर्ने आश्वासन समेत दिइएको बताए ।

गाजामा इजरायली हमला जारी रहँदा कतारको विदेश मन्त्रालयले हमासको वार्ता टोलीले ट्रम्पको योजना अध्ययन गरिरहेको जनाएको छ ।