काठमाडौँ १५ असोज / अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो ।
दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई अझ सात हप्तासम्म विस्तार गर्न डेमोक्रेटहरूको सहमति आवश्यक भएको दाबी गरेका छन् भने डिमोक्रेटहरूले आवश्यक सहुलियत बिना सिनेटमा कुनै कोषसम्बन्धी प्रस्तावलाई समर्थन गर्न अस्वीकार गरेका छन् ।
डेमोक्रेटिक नेता हाकिम जेफ्रीज र चक शुमरले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूलाई दोषारोपण गरेका छन् । ‘महिनौँसम्म जनताको जीवन कठिन र महँगो बनाएपछि, डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूले अब सङ्घीय सरकार बन्द गराएको छ किनभने उहाँहरू अमेरिकी जनताको स्वास्थ्य सेवाको रक्षा गर्न चाहनुहुन्न’, विज्ञप्तिमा उल्लेख छ।
विपक्षीको माग अनुसार केही बजेट दिन राजी भएपछि अमेरिकामा जुन पार्टीको राष्ट्रपति भए पनि प्राय संघीय बजेट पास हुने गर्छ। यस पटक भने त्यस्तो सहमति हुन सकेन। अमेरिकामा पछिल्लो सरकार बन्द ट्रम्पको पहिलो कार्यकालमा भएको थियो।
ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सिमानामा पर्खाल निर्माणका लागि पैसा छुट्टयाउने मागमा डेमोक्र्याटिक सांसद सहमत नभएपछि २०१८ डिसेम्बर देखि ३५ दिनसम्म सरकार बन्द भएको थियो।

