काठमाडौँ १९ असोज / शुक्रबार र शनिबारको अविरल वर्षाका कारण रोकिएको आन्तरिक उडान काठमाडौंको आकाश बिहानैदेखि खुलेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ । आन्तरिक उडान पनि सञ्चालनमा आउन थालेका छन् ।
आइतबार बिहान ७:३१ बजे पहिलो उडान यती एयरलाइन्सले भद्रपुरका लागि गरेको थियो। उक्त उडानपछि काठमाडौं बाहिरका अधिकांश सुगम विमानस्थलहरूमा पनि उडान सञ्चालन सुरु भएको आन्तरिक ट्रमिनल व्यवस्थापकले जनाएको छ।
शनिबार साँझ ४ बजेदेखि ७ बजेसम्मको अवधिमा ७ वटा अन्तर्राष्ट्रिय उडानहरू खराब मौसमका कारण बंगलादेश र भारततर्फ मोडिएका थिए। तीमध्ये सबै उडानहरू राति ढिलो गरी काठमाडौं फर्किसकेका छन्।
नागरिक उड्डयन प्राधिकरणका अनुसार शनिबारका लागि १४५ वटा आन्तरिक उडान तय गरिएको थियो, तर केवल ७ वटा मात्र सम्पन्न भएका थिए। १३८ उडानहरू मौसम प्रतिकूल रहेको कारण देखाउँदै रद्द गरिएको थियो। ती ७ वटा विमानहरू भद्रपुर, विराटनगर, भैरहवा र पोखरामै रोकिएका थिए।
आन्तरिक टर्मिनलका अनुसार शनिबार पोखरा, विराटनगर, भरतपुर, भैरहवा, जनकपुर, धनगढी र नेपालगञ्जमा रोकिएका विमानहरू आज क्रमशः काठमाडौं फर्किँदै छन्।

