fbpx

काठमाडौँ २० असोज — केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।

वर्षा रोकिएसँगै काठमाडौँका बजार क्षेत्रमा पनि मानिसहरुको भीड देखिन थालेको छ। अहिले दैनिक उपभोग्यलगायतका सामग्री किनमेल गर्नेको संख्यामा वृद्धि भएको छ। असन, इन्द्रचोक, न्युरोड, पुरानो बानेश्वर, गोङ्गबुलगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीले बताएका छन्।

अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ। उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो। मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो। आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौँका सडकमा गाडीको चाप बढेको छ भने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुङ्गा, अरनिको राजमार्ग, टोखा सडकखण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेका तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेकाछन्।

वर्षाका कारण जनजीवन असामान्य भएको काठमाडौँमा अहिले वर्षा रोकिएर घाम लागेपछि स्थानीय र व्यवसायीहरूले राहतको महसुस गरेका बताएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जनाएको छ।