काठमाडौँ २० असोज – निर्वाचन आयोगले आगामी फागुन २१ गते घोषणा हुने भनिएको प्रतिनिधिसभा चुनावको कार्यतालिका आयोगको सोमबारको बैठकले सार्वजनिक गरेको छ ।
बैठकले कार्यतालिका स्वीकृत गर्दै मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको जनाएको छ ।
माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र प्रचारप्रसार निषेधको अवधि रहने आयोगको विज्ञप्तिमा उल्लेख छ ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ हुने कार्यक्रम छ ।
निर्वाचनमा राजनीतिक दल एवं सरोकार भएकाहरूसँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्ने जनाइएको छ ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले आगामी कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगले जनाएको छ ।


